३० असार, दार्चुला । दार्चुला जिल्लाका बाढीपीडितका लागि ल्याएको ४२ क्विन्टल चिनी २० दिनदेखि डडेल्धुरामा थन्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय धनगढीले पठाएको ५० क्विन्टल चिनीमध्ये आठ क्विन्टलमात्र नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुला पठाइएको र बाँकी ४२ क्विन्टल चिनी २० दिनदेखि ढुवानी रोकिएपछि डडेल्धुरामा थन्किएको साल्ट टे्रडिङ कर्पोरेसनका लक्ष्मण सिंह धामीले बताउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय धनगढीले असार पहिलो साता पठाएको चिनी ढुवानी व्यवस्था नभएकाले डडेल्धुरामा सुरक्षित राखिएको सो कार्यालयका विभागीय प्रमुख केशवप्रसाद पाण्डेयले बताउनुभयो । असार पहिलो साता पठाइएको आठ क्विन्टल चिनी सकिएपछि जिल्लामा अहिले चिनी पाइन छाडेको छ । नेपाल-भारत सीमा क्षेत्र भारतको धार्चुलामा जोडिएको झोलुङ्गे पुल भत्किएपछि बढी समस्या भएको हो ।
सीमा क्षेत्रको झोलुङ्गे पुल बाढीले बगाएपछि उपभोग्य सामग्री ढुवानीमा समस्या आएको धामीले बताउनुभयो । रासस

No comments