२९ कलेजको भर्ना रोक
कारबाहीमा परेका संस्थाको नाम सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा
सीटीईभीटीको लिष्टमा भएकामामात्रै भर्ना गर्न आग्रह
काठमाडौं, असार ७ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पूर्वाधार नपुगेको भन्दै आफूसम्बद्ध २९ कलेजमा तत्काललाई विद्यार्थी भर्ना रोकेको छ । अनुगमनका क्रममा डिप्लोमा तथा प्रमाणपत्र तह र टीएसएलसी अध्यापन गराउने २९ संस्थाहरू मापदण्डविपरीत भेटेपछि सीटीईभीटीले यस्तो कारबाही गरेको हो ।
सीटीईभीटीका स्तर निर्धारण महाशाखा प्रमुख विष्णु कोइरालाले पूर्वाधार नपुगेका संस्थाको नाम साताभित्र सार्वजनिक गर्ने बताए । पूर्वाधार पूरा गर्न एक महिनाको समया अवधि तोकिएको छ । उक्त अवधिमा पनि नगरे यस वर्षको कार्यक्रमसमेत सञ्चालन नपाउने उनले बताए । 'पुनः अध्ययन गर्न जाँदा मापदण्ड पूरा गरेको पाइए विद्यार्थी भर्ना गर्न पाउँछन्,' उनले भने, 'हेलचेक्रयाई गर्छन् भने कार्यक्रम सञ्चालनसमेत गर्न पाउँदैनन् ।' संस्था नवीकरण गर्नुअघि तोकिएको पूर्वाधार पूरा गरेको हुनुपर्छ ।
पूर्वाधार पूरा नगर्नेमा नाम चलेको नर्सिङ कलेज पनि छन् । सीटीईभीटीले पूर्वाधार नपुगेको भन्दै नर्सिङ र एचएतर्फ मेडिकल इन्स्टिच्युट लाहान, मोडल कलेज अफ टेक्निकल एजुकेसन वीरगञ्ज, च्छोरोल्पा नर्सिङ कलेज दोलखा, बालकुमारी कलेज चितवन, ओसिस मेडिकल कलेज भरतपुर, चितवन हेल्थ फाउन्डेसन एन्ड रिसर्च सेन्टर चितवन, नागरिक सामुदायिक टिचिङ अस्पतालले सञ्चालन गरेको एएनपीसी हेल्थ साइन्स कलेज कौसलटार, काठमाडौं नर्सिङ क्याम्पस बसुन्धारा, होप इन्टरनेसनल एकाडेमी सातदोबाटो, स्टार एकाडेमी ललितपुुरलाई यस वर्षको भर्ना गर्न तत्काल रोक लगाएको छ ।
त्यस्तै इन्जिनियरिङतर्फ स्कुल अफ जिओम्याटिक बानेश्वर, सिद्धार्थ टेक्निकल इन्स्टिच्युट बुटवललाई पनि विद्यार्थी भर्नामा प्रतिबन्ध लगाएको छ । होमियोप्याथि विषय पढाउने भक्तपुरको सेन्ट्रल फर अलटरनेटिभ टिचिङ हेयलिङ, डेन्डल पढाउने पोखराको कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स, फार्मेसी अध्ययन गराउने पोखराकै वेस्ट हेल्थ साइन्स एकाडेमी, आयुर्वेद पढाउने जाउलाखेलको नेपाल आयुर्वेद एकाडेमीमा पनि विद्यार्थी भर्ना गर्न दिएको छैन ।
सीटीईभीटीले तीन वर्षे डिप्लोमा तहको एक सय ६० संस्थाको नाम, ठेगाना, पढाउने विषय र कोटासहित सूचना प्रकाशित गरेको छ । उक्त लिस्टमा भएकोबाहेक अन्यमा अहिलेलाई भर्ना प्रक्रिया अघि नबढाउन उसले अभिभावक र विद्यार्थीलाई आग्रह गरेको छ । '०७०/७१ का लागि नवीकरण भई नयाँ भर्ना गरी कार्यक्रम सञ्चालन गर्न अनुमित दिइएका शिक्षण संस्थाबाहेक अन्यत्र भर्ना फाराम नबुझाउन सबैलाई आग्रह गर्दछौं,' कोइरालाले भने ।
तोकिएको समयमा पूर्वाधार पूरा गरेमा पुनः भर्ना गर्न सीटीईभीटीले सूचना जारी गर्ने व्यवस्था छ । अधिकांश नर्सिङ कलेजको आफ्नै अस्पताल छैन । अनुगमनका क्रममा अधिकांशमा कक्षा कोठा, ल्याब, लाइब्रेरी मापदण्डअनुसार नपाइएको सीटीईभीटीले जनाएको छ । नर्सिङ अध्ययन गराउनेको चाहिँ विद्यार्थी अनुपातमा अस्पतालमा बिरामी छैनन् । अनुगमनमा खटिएका अधिकारीका अनुसार स्वास्थ्य संकायको नर्सिङ, एचए, फार्मेसीलगायतको संकायमा प्रयोगशाला व्यवस्थित नभएको, प्रयोगात्मक गर्न प्रयोग गरिने सामान नचल्ने, पुरानो प्रविधिको पाइएको छ । बजारमा नयाँ प्रविधिको प्रयोग भए पनि विद्यार्थीलाई सिकाउने सामान पुरानै छन् ।
सीटीईभीटीले त्यस्ता शिक्षालयको नाम सार्वजनिक नगर्दा विद्यार्थी कहाँ भर्ना गर्ने नगर्ने अन्योलमा छन् । सीटीईभीटीले नाम सार्वजनिक गर्न नचाहनुले उनीहरूको नियतमाथि शंका उब्जेको छ । पदाधिकारीले कारबाहीका नाममा पैसाको चलखेल सुरु गरेको अधिकारीहरूको भनाइ छ । कारबाहीमा परेको संस्थामा पनि विद्यार्थीलाई भर्ना फाराम दिएका छन् ।
No comments