गोपाल दाहाल
२० साउन, धरान । ६४ बर्षीया मिठु कटुवाल जीवनमा पीडैपीडा लिएर बस्नुभएको । अहिले बिरामी अवस्थामा रहनुभएकी उहाँलाई औषधि किन्नसमेत समस्या छ ।गाडी दुर्घटनामा परी तेह्र बर्षकै उमेरमा दुबै खुट्टाको घुँडा मुनिको भाग गुमाएकी मिठूले अहिलेसम्म मागेर खानुभएको छैन । उहाँले अहिलेसम्म धरानको आचार्यलाइनमा चकलेट, चुरोट बेचेर जीवन चलाउँदै आउनुभएको छ । बत्ति कातेर पनि उहाँले अर्थोपार्जन गर्नुहुन्छ । तर, यतिबेला बिरामी भएपछि भने उहाँले यी काम पनि गर्न सक्नुभएको छैन ।
मधुमेहले च्यापेपछि पहिला काटिएका उहाँका खुट्टा सुन्निएर फोका उठेका छन् । तर औषधी किन्ने पैसा नहुँदा त्यसै बस्नुपरेको उहाँको गुनासो छ । उहाँलाई यतिबेला दमले पनि सताउन थालेको छ । एकल महिला मिठुका छोराछोरी पनि कोही छैनन् । आफन्त नभएको र आफु पनि हिँड्न नसक्ने भएकाले उहाँले अपाङ्ग परिचयपत्र बनाउन सक्नुभएको छैन । उहाँले एकल महिला भत्ता भने मासिक ५ सय रुपैयाँ पाउनुहुन्छ । तर, आफूले एकल महिला भत्ता लिन छाडेर मासिक एक हजार रुपैयाँ पाउने अपाङ्ग भत्ता लिन चाहे पनि बनाइदिने मान्छे कोही नभएर समस्या भएको बताउनुभयो ।
उहाँलाई विभिन्न रोगको औषधि किन्न मासिक झण्डै २ हजार लाग्छ । अपाङ्गका लागि काम गर्ने संघ संस्थाले उहाँलाई नक्कली खुट्टा पनि नदिएका होइनन् तर अहिले उहाँलाई ती खुट्टाहरु लगाउन समस्या भएको छ । नक्कली खुट्टाहरु गह्रौं छन्, उहाँ कमजोर हुनुहन्छ, नक्कली खुट्टा उचाल्नै सक्नुहुन्न । नक्कली खुट्टा लगाएपछि उहाँका खुट्टा झन् सुन्निने र पानी जम्ने हुन थालेपछि झनै अफ्ठ्यारोमा पर्नुभएको छ ।
मिठू आफु सबैका लागि बोझ बनेको बताउनुहुन्छ । उहाँलाई यतिबेला खान र बस्न भन्दा पनि सुरुमा औषधी किन्नै समस्या छ । अपाङ्ग, असहायहरुका लागि काम गर्ने संस्थाहरु प्रशस्तै भए पनि उहाँलाई साथ दिने कोही छैनन् । उहाँ यतिबेला औषधी किनिदिने मनकारीको खोजीमा हुनुहुन्छ ।मिठूकी भाउजू नाता पर्ने लक्ष्मी कटुवाल भन्नुहुन्छ- ‘आफ्नै भन्ने कोही छैनन्, हाम्रा घरमै बिरामी छन्, सँधै हेर्न र औषधी किनिदिन सकिंदैन, मान्छे हो, फाल्न पनि भएन । कसैले सहयोग गरे हुने थियो ।’
वृद्धाश्रमको खाँचो
मिठूजस्ता बूढाबूढी एवं अशक्तहरुलाई राजाको पञ्चायती शासनकालमा राज्यले कुनै सविधा दिएको थिएन । लोकतन्त्र आएपछि अपांग, बृद्ध र एकल महिलाहरुले थोरै भए पनि भत्ता पाउन थालेका हुन् । राज्य अझै लोक कल्याणकारी बन्ने हो भने मिठूजस्ता असहायका लागि सरकारी आवास एवं वृद्धाश्रमको व्यवस्था गरिदिए शायद यस्तो पीडाबाट मुक्ति मिल्थ्यो कि ?
No comments