कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले वीरगञ्जका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।
पेट्रोल बम प्रहारमा परेर दुई सर्वसाधारणसमेत घाइते भएका छन् । थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् । घण्टाघर, माइस्थान, पानी ट्यांकीलगायतका क्षेत्रमा भएको झडपमा आन्दोलनकारीले पेट्रोल बम हानेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमको वर्षा गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै प्रजिअ घिमिरले भने-‘पेट्रोल बमको वर्षा भएको छ, थप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।’
आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै हानेको पेट्रोल बम लागेर सार्वसधारणसमेत घाइते भएका छन् । घाइते हुनेमा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका भरत नेपाल र स्थानीय सञ्चारकर्मी विद्यार्थी गिरी छन् ।
माइस्थान चोकमा आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर हानेको पेट्रोल बम उनीहरुलाई लागेको थियो । दुबैको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई लक्षित गरी आन्दोलनकारीले माइस्थान चोकमा हानेको पेट्रोल बम ना २१ प ९६४३ नम्बरको मोटरसाइकलमा सवार गिरीमाथि लागेको थियो ।
आन्दोलनकारीहरुले सिसाको बोटलमा पेट्रोल राखेर धागो हाल्ने र त्यसमा आगो लगाएर हान्ने गरेका छन् । उनीहरुले ढुंगामुढाका साथै गुलेलीबाट हानेका थिए ।
झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् । घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।
सोमबार भएको झडपमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि वीरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू जारी गरेको छ ।
No comments