भदौ ७ काठमाडौं – नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवका छोरा र भतिजी काठमाडौंको चाबहिलस्थित निवासमा बेहोस अवस्थामा फेला परेका छन् ।
निवासमा बेहोस भेटिएका दुबैलाई राजधानीको ओम अस्पतालको आइसियूमा राखिएको छ ।
बेहोस हुनेमा विप्लवका कान्छा छोरा नक्षत्र चन्द र भतिजी मञ्जु चन्द रहेका छन् ।
उनीहरुलाई बेहोस अवस्थामा छिमेकीले फेला पारेर आफन्तलाई खबर गरेको पारिवारिक स्रोतले जनाएको छ ।
शनिबार साँझ अभिभावक नभएको मौका छोपी अपरिचित समुहले चाबहिलस्थित निवासमा पुगि जबरजस्ती रुपमा विष सेवन गराएको अनुमान गरिएको छ ।
घटनापछि चन्द निवासमा पुगेको प्रहरीले एउटा विषको खालि बट्टा समेत भेटेको बताइएको छ ।
विष कसले खुवाएको वा अरुनै कारण हो भन्ने अहिले सम्म खुल्न सकेको छैन ।
यसबारे हाल पोखरामा पार्टीको कामको सिलसिलामा रहेका विप्लबले घटना रहस्यपूर्ण रहेको भन्दै अहिले कसैलाई पनि आक्षेप लगाउन नमिल्ने बताए ।
‘अहिले कार्यकर्ता प्रशिक्षणको क्रममा पोखरामा रहेको छु, छोरा र भतिजी ओमको आइसीयुमा रहेको खबर पाएको छु,’चन्दले भने, ‘म अहिल्यै केहि पनि भन्न सक्ने अवस्थामा छैन, कसैले षड्यन्त्र गरेका पनि हुनसक्छ ।’
घटना थाहा पाएपछि विप्लब राजधानी फर्किदै छन् ।
यता विप्लब निकट मानिने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका सचिवालय सदस्य विजय दर्नालले पनि मार्ने षड्यन्त्रका साथ उनलाई अज्ञात समुहले विष सेवन गराएको हुन सक्ने भन्दै राज्यले घटनाको सत्य तथ्य बाहिर ल्यानुपर्ने बताए ।
उनले जतनाको पक्षमा दिन रात खट्ने नेताको परिवारमाथि यस्तो निन्दनीय कार्य हुनु दुःखद भएको भन्दै दोषीलाई कानुनी कठघारामा उभ्याएर कडा भन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिए ।
गम्भीर अवस्थामा उपचार गराइरहेका विप्लबका छोरा र भतिजीको स्वास्थ्य अवस्था बुझ्न राती अबेर पार्टी महासचिव रामबहादुर थापासहित नेता कार्यकर्ता ओम हस्पिटलमा पुगेका थिए ।
उनीहरुले टोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका थिए ।
यता प्रहरीले पनि घटनाको छानबिन गरिरहेको जनाएको छ ।
No comments