मेरो नाम संगिता (नाम परिवर्तन) हो । बुवाले रक्सी खाएर दिन दिनै आमा पिट्ने । अनि बस्नै नसकेर काठमाडौं आएको केही काम पाएन अनि एउटा दाईले यस्तो काममा लगाइदिएको ।
मेरो नाम सिता (नाम परिवर्तन) हो । धेरै जना भाई बहिनी;
कमाउने बुवा मात्र । बुवा पनि बिरामी भएर थला परेपछि कमाउने कोहि भएन । राम्रो काम खोजेको कतै पाइएन । अनि यस्तो पेशा थालेको ।
यस्ता किसिमका परिवर्तित नाम तर समान ब्यथा बोकेका समाचार आज सम्म कैयौ पटक पढिसक्यौ । प्राय जसो सस्ता गेष्ट हाउस र लजमा प्रहरीद्वारा छापा मारेको भोलिपल्ट देखि सुरु हुन्छन् यस्ता समाचारका लर्को । प्रहरीले समात्छन, अनि पत्रिकाले आपत्तिजनक, नग्न अवस्था, देहब्यापार, बेश्याब्रिती जस्ता आकर्षक शिर्षक दिएर छाप्छन । केही समयपछी छुट्छन । समाचार सेलाउछ । फेरि अर्को गेष्ट हाउसमा छापा मारिन्छ । फेरि आपत्तिजनक, रङेहात, नग्नअवस्था, देहब्यापार, बेश्याब्रिती दोहोरिन्छन । तर ती युवतीहरू जसको घरमा एक बुजो गाँस, एकसरो कपास नभएर यो पेशामा लागेकी हुन्छिन तिनलाई पत्रिकाको अर्को प्रति आएलगतै बिर्सिन्छौ ।
बिरामी बाउ उपचार गर्न, भाई बहिनि पढाउन , ॠणले डुबेको घर उकास्न उनले आफ्नो शरीर अरुलाई सुम्पिन वाध्य भएको ब्यथा सभ्य समाजका कमै सदस्यले सुन्छन किनभने उनी तथाकथित बेश्या हुन ।
बेलाबखतमा देहब्यापारलाई निश्चित क्षेत्र छुट्याएर कानुनी मान्यता दिनुपर्छ भन्ने मलिनो आवाज सुनिन्छ तर सुनुवाई भएको छैन । नेपाल एक अत्यन्त गरिब देश हो, यो मैले भनेको हैन अधिकांस बिदेशी आयोग, नियोग, संघसङठनका तथ्यांकले भनेको । एक तिहाइ जनता निरपेक्ष गरिबीको रेखामुनी बाँच्न वाध्य छन् । बेरोजगारीको बिकराल समस्या बुझ्न दैनिक श्रम स्वीकृति लिने २ हजार युवायुवतीको लाइन हेरे पुग्छ । बिदेशी दान दक्षिणामा चलेको अब्यवहारिक शिक्षा नितीले न देश मै रोजगारप्राप्त गर्न सम्भव छ न त स्वरोजगारको नीम्ति सबैसँग यथेष्ट पुँजी छ । यस्तो हबिगतमा एक गरीब युवतीको नीम्ति दुई वटा बिकल्प हुने नै भए । या त बिदेशी दलाल साथ लागेर खाडी मुलुक पस या स्वदेश मै देह ब्यापारमा लाग ।
अशिक्षित र सीपबिहिन महिलाले खाडी मुलुकमा पाउने काम भनेकै घरेलु काम हो । स्वदेशमा देहब्यापारमा नलागी खाडी मुलुकमा घरेलु कामदारको रुपमा गएका महिलाले भोगेको यौन शोषण र हिंसाको चर्को रुप; पीडा सहदा सहदै मानसिक सन्तुलन गुमाएर फर्किएका महिलालाई हेरेर थाहा पाईन्छ । लैंगिक समानता र सशक्तीकरणका लागि राष्ट्रसंघीय निकाय युएन वुमनले गत वर्ष गरेको एक अध्ययन अनुसार, अहिले १११ नेपाली महिला कुबेत, साउदी अरब, यमन र लेबनानका कारागारमा छन्। ८२ जनाले उतै आत्महत्या गरेका छन् भने ३१ बेपत्ता छन्। उद्धार गरेर नेपाल फर्काइएका २८२० मध्ये ४१५ मानसिक सन्तुलन गुमाएका, ८६ अनिच्छित गर्भ बोकेका र ३२ बालबच्चासहित आएका छन्। यस्तो असुरक्षित अवस्था देख्दा देख्दै पनि अझै कतिपय महिलाहरू बिदेशिने क्रम रोकिएको छैन । स्वदेश मै रोजगारी मिल्दो हो त किन जान्थे पीडित हुन ?
खाडी मुलुकका डरलाग्दो वातावरण देखेर स्वदेश मै केही गरौ – काम छैन । हातमा सीप छैन । पुँजी छैन । तर पेटले धेरै दिन कुर्न सक्दैन । वाध्य भएर देहब्यापारमा लागेर बिरामी बुवा, भोका भाई बहिनीको उद्दार गर्न खोज्दा प्रहरी बीचमा आइपुग्छ । र सभ्य समाज सामु सिधै ‘बेश्या’ बाट सम्बोधित हुनपुगिन्छ ।
No comments