काठमाडौ, असार २ - सामसुङले आफ्नो वाटरप्रुफ स्मार्टफोन आगामी जून २० का दिन बजारमा ल्याउने घोषणा गरेको छ। ग्यालेक्सी एसफोर एक्टिभ नाम दिइएको उक्त स्मार्टफोनलाई एक मिटर गहिरो पानीमा करिब आधा घण्टासम्म डुबाउँदा पनि कुनै असर हुनेछैन। त्यसैगरी यसमा कुनै पनि प्रकारको धूलो पनि प्रवेश गर्नेछैन।
ग्यालेक्सी एसफोर एक्टिभमा ५ इन्चको फुल एचडी डिस्प्ले हुनेछ। यसमा क्वाड-कोर प्रोसेसर, ८ मेगापिक्सेलको रियर फेसिङ तथा २ मेगापिक्सेलको फन्ट-फेसिङ क्यामेरा छ। यसमा भएको स्क्रिन सेन्सरका कारण यसलाई ग्लोभ प्रयोग गरिएको हातले समेत चलाउन सकिनेछ। त्यसैगरी यसमा भएको विशेष प्रकारको अक्वा मोड सेटिङ प्रयोग गरी अन्डरवाटर फोटोग्राफीका लागि समेत प्रयोग गर्न सकिन्छ। यसमा हावाको चाप नाप्ने ब्यारोमिटरसमेत छ। एन्ड्रोइड ४.२.२ भर्सनमा उपलब्ध यो स्मार्टफोनले फोरजी एलटिई सपोर्ट गर्छ फलस्वरूप यसमा सुपरफास्ट मोबाइल इन्टरनेट प्रयोग गर्न सकिन्छ। यसको मूल्य भने आधिकारिक लन्चकै अवसरमा घोषणा गरिने बताइन्छ।
No comments